१. कार्यालयको परिचय

वि.सं. २०६५/०६६ सालको बजेट वक्तव्यअनुसार अस्थायी संरचनाका रूपमा देशका १४ अञ्चलमध्ये प्रत्येक अञ्चलमा एक/एक वटा रोजगार सूचना केन्द्र स्थापना गरिएको थियो। तत्पश्चात् मिति २०७५।०६।०५ गते नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयबमोजिम संघीय शासन प्रणालीअनुरूप रोजगार सूचना केन्द्रहरूको पुनर्संरचना गरी प्रत्येक प्रदेशमा एक/एक वटा रहने व्यवस्था गरिएको थियो। सोही निर्णयअनुसार हाल यो कार्यालय प्रदेश सरकारको मातहतमा सञ्चालनमा रहेको छ।

रोजगारदाता तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरूबीच निःशुल्क रूपमा समन्वयकारी तथा पुलको भूमिका निर्वाह गर्नु यस कार्यालयको मुख्य उद्देश्य हो। कार्यालयले रोजगारीका अवसर र उपलब्ध दक्ष जनशक्तिबीच सहज, सरल तथा प्रभावकारी पहुँच स्थापना गर्दै रोजगारसम्बन्धी सूचना, समन्वय तथा सहजीकरणका सेवा प्रदान गर्दै आएको छ।

हाल कार्यालयको स्वीकृत संगठन संरचनाअनुसार मन्त्रालयबाट अतिरिक्त जिम्मेवारी प्राप्त एक जना अधिकृतस्तरका स्थायी कर्मचारी केन्द्र प्रमुखका रूपमा कार्यरत छन् । त्यसैगरी, एक जना सहायक पाँचौँ तहका रोजगार संयोजक, एक जना सहायक कम्प्युटर अपरेटर तथा एक जना कार्यालय सहयोगी करार सेवामार्फत कार्यरत छन्। सीमित तर सक्षम जनशक्ति संरचनाका बाबजुद पनि कार्यालयले आफ्नो जिम्मेवारी तथा सेवाप्रवाहलाई प्रभावकारी, नियमित तथा निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ।

२. पृष्ठभूमि

रोजगारी मानिसको जीवनयापनको प्रमुख आधार तथा राष्ट्र निर्माणको महत्वपूर्ण मेरुदण्ड हो। यसै कारण विश्वका अधिकांश मुलुकहरूले रोजगारीको विकास, विस्तार तथा प्रवर्द्धनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिई विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएका छन्। नेपालले पनि रोजगारीलाई आर्थिक तथा सामाजिक विकासको आधार मान्दै नागरिकलाई सम्मानजनक रोजगारी उपलब्ध गराउने उद्देश्यले रोजगारीको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। नेपालको संविधान, २०७२ को धारा ३३ बमोजिम प्रत्येक नागरिकलाई रोजगारीको हक प्रत्याभूत गरिएको छ।

३. आवश्यकता र औचित्य

राज्यले रोजगारीका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि नेपालमा बेरोजगारीको समस्या अझै चुनौतीपूर्ण रहेको छ। प्रत्येक वर्ष करिब पाँच लाख नयाँ जनशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको पाइन्छ। पर्याप्त आन्तरिक रोजगारीको अभाव तथा वैदेशिक रोजगारीको आकर्षणका कारण ठूलो संख्यामा युवाशक्ति विदेशिने अवस्था विद्यमान छ। यसबाट एकातर्फ दक्ष, ऊर्जाशील तथा उत्पादनशील जनशक्ति विदेश पलायन भइरहेको छ भने अर्कोतर्फ स्वदेशका उद्योग, व्यवसाय तथा उत्पादनमूलक क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभाव भइरहेको छ।

यस्तो अवस्थालाई सम्बोधन गर्न श्रम बजारमा उपलब्ध बेरोजगार जनशक्तिको शैक्षिक योग्यता, सीप, दक्षता, अनुभव, उमेर, लिङ्ग तथा इच्छित कार्यक्षेत्रको अभिलेख तयार गरी रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच प्रभावकारी समन्वय गर्ने उद्देश्यले रोजगार सूचना केन्द्रहरूको स्थापना गरिएको हो।

४. कार्यालयको उद्देश्य

कार्यालयका प्रमुख उद्देश्यहरू देहायबमोजिम रहेका छन्-

  • रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच निःशुल्क रोजगार विनिमय सेवा उपलब्ध गराउने।
  • श्रम बजारसम्बन्धी सूचना सङ्कलन, अद्यावधिक तथा प्रवाह गर्ने।
  • दक्ष जनशक्ति र उपलब्ध रोजगारीका अवसरबीच समन्वय तथा सहजीकरण गर्ने।
  • बेरोजगार व्यक्तिहरूको तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरण गर्ने।
  • रोजगारसम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउने।
  • रोजगारसम्बन्धी सूचना प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने।

५. प्रमुख कार्यहरू

कार्यालयले मुख्य रूपमा निम्न कार्यहरू सम्पादन गर्दै आएको छ-

  • रोजगार खोज्ने व्यक्तिहरूको विवरण दर्ता तथा अद्यावधिक गर्ने।
  • रोजगारदाताबाट प्राप्त रिक्त पदहरूको विवरण सङ्कलन तथा प्रकाशन गर्ने।
  • रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीच समन्वय तथा रोजगार विनिमय सेवा प्रदान गर्ने।
  • श्रम बजारसम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण तथा प्रतिवेदन तयार गर्ने।
  • रोजगारसम्बन्धी परामर्श तथा सूचना सेवा प्रदान गर्ने।
  • रोजगारसम्बन्धी विभिन्न सरकारी कार्यक्रमहरूको कार्यान्वयनमा सहजीकरण गर्ने।
  • अनलाइन प्रणालीमार्फत सेवा प्रवाह तथा तथ्याङ्क व्यवस्थापन गर्ने।

६. सेवा प्रवाह

कार्यालयबाट निम्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ-

  • रोजगार खोज्ने व्यक्तिको दर्ता तथा नवीकरण।
  • रोजगारदाताको दर्ता ।
  • रोजगारसम्बन्धी सूचना तथा परामर्श सेवा ।
  • रोजगार विनिमय सेवा
  • श्रम बजारसम्बन्धी सूचना उपलब्ध गराउने ।
  • अनलाइन प्रणालीमार्फत सेवा प्रदान गर्ने ।

७. सूचना प्रविधिमार्फत सेवा

रोजगार सेवालाई प्रविधिमैत्री, पारदर्शी तथा सहज बनाउन अनलाइन सेवा सञ्चालनमा ल्याइएको छ । रोजगार खोज्ने व्यक्ति तथा रोजगारदाताले श्रम संसार (www.sharmsansar.gov.np) प्रणालीमार्फत आफ्नो विवरण दर्ता, अद्यावधिक तथा रोजगारसम्बन्धी सूचना प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।